सामान्यतः ‘रूपान्तरण’ भन्नेबित्तिकै सकारात्मक ढंगको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनलाई बुझिन्छ । हाम्रो देशलाई हेर्दा २०४६ र २०६२ सालको परिवर्तनलाई मुख्य राजनीतिक रूपान्तरण मान्न सकिन्छ ।

यद्यपि २००७ सालको क्रान्तिको आफ्नै महत्व छ । विशेषगरी २०६३ पछि नै गणतन्त्र सहित, धर्मनिरपेक्षता, सामाजिक समावेशिता, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित भयो । जनआन्दोलनपछि राज्यको संरचना नै परिवर्तन भएको हुनाले रूपान्तरणको जग २०६२/६३ लाई मानियो ।

तर राजनीतिक रूपान्तरणले मात्र हामीले के पायौं भन्ने सवाल टड्कारो बन्यो र आर्थिक रूपान्तरण तथा विकासको आवश्यकता झनै देखियो । हामी सबैलाई थाहा छ- आर्थिक रूपान्तरणले नै राजनीतिक रूपान्तरणलाई स्थायित्व प्रदान गर्छ । आर्थिक विकासको लागि त ठूलै लगानी, पूँजी र प्रविधि चाहिन्छ । तर लगानी भित्र्याउने कुरामा नेपालमा दुईमत पाइन्छ । एकथरीले विदेशी लगानी भित्र्याउनुहुँदैन भन्छन्, अर्को पक्षले वैदेशिक लगानी नै विकासको आधार मान्छन् ।

आजको अवस्था हेर्दा हामीलाई वैदेशिक लगानी धेरै चाहिन्छ । किनकि आदर्शको मात्र कुरा गरेर परिवर्तन हुँदैन । विकासको विश्वव्यापी घटनाक्रम हेर्दा जुनसुकै देशलाई बाहिरी सहकार्य तथा सहायता चाहिएको देखिन्छ । नेपालमा बढी उच्चारण हुने देश चीनमा देङ स्याओ पिङले खुल्ला आर्थिक रणनीति ल्याएपछि नै चीन समृद्ध बनेको हो । सन् १९९० पछि त त्यहाँ बाहिरको पूँजी र प्रविधिको बाढी नै आयो । त्यसपछि आत्मनिर्भर हुँदै चीनले विश्वमा चमत्कार गरेको हो । आज कम्युनिष्ट राष्ट्र भियतनाम सफल वैदेशिक लगानीका कारण विश्व आर्थिक शक्तिमा गनिन सफल भएको छ । भारतले पनि चीनलाई पछ्याइरहेको छ ।

वैदेशिक लगानी भन्ने बित्तिकै हामी पैसा मात्र सोच्छौं । त्यो मात्र होइन, प्रविधि आजको सबैभन्दा ठूलो लगानी हो । जस्तो- स्मार्ट पार्किङ बनाउने कुरा होस् वा नयाँ आर्टिटेक्ट भवनहरू वा मेट्रोरेल । आज सिंगापुर र दुबईले आधुनिक विकासलाई देखाएर मनग्ये कमाइरहेका छन् । हामीकहाँ कुनै काम कसरी आधुनिक र दिगो शैलीले तयार पार्ने भन्ने वैज्ञानिक ज्ञानको विकास अझ भइसकेको छैन । विदेशी प्रविधि र प्राविधिक भित्र्याइयो भने पो हामी आफ्नो लगानी र मानव पूँजीलाई बलियो बनाउन सक्छौं । र, यसले हामीलाई विश्वसँग जोड्न सघाउँछ ।

यता ‘वैदेशिक लगानी’ को कुरा गर्दा ‘स्वउत्पादन’ पनि उच्च प्राथमिकतामा हुनुपर्छ । वैदेशिक लगानी भन्नेबित्तिकै हाम्रो उत्पादनलाई निरुत्साहित बनाउने अर्थमा बुझ्नुहुँदैन । सापेक्ष ढंगमा वैदेशिक लगानी र नेपालको स्वउत्पादनको तालमेल मिलाउन सक्नुपर्छ । अन्तर्राष्ट्रिय लगानीले स्वउत्पादनलाई व्यावसायिक बनाउन सघाउँछ र अन्ततोगत्वा यसले उत्पादनलाई निर्यातमुखी बनाउँछ ।

नेपाल र थाइल्याण्डको एअरलाइन्स एकै समयमा स्थापना भएका हुन् । आज थाई एअर विश्वभरि उडान भर्छ । यता नेपालको एअरलाइन्ससँग आधा दर्जन पनि जहाज छैनन् । यसैबाट थाहा हुन्छ- हामी कसरी पछाडि पर्‍यौं, किन पर्‍यौं ?

होइन हामी सबै कुरा आफैं बनाउँछौं भन्नु मूर्खता हो । यस्तो मूर्खताबाट हामीले आर्थिक रूपान्तरणको अभिभारा पूरा गर्न सक्दैनौं । आज संसार कता लम्किरहेकोे छ, हामीले त्यो विचार गर्नुपर्छ । बाहिरी दुनियाँमा धेरै परिवर्तन भएको छ, नेपाल यसबाट पछि भाग्न सक्दैन । विकास भन्ने बित्तिकै एक दुई तलाका कंक्रिटका भद्दा भवन बनाउने मात्र होइन ! जलविद्युत्, सडक, कम्प्युटर प्रविधि, पर्यटन तथा सामाजिक गुणात्मकताको पनि विकास हो । विकासले विनाश मात्रै गर्छ भन्ने होइन, नीतिहरूको सही कार्यान्वयन नहुँदा लक्षित वर्गलाई भन्दा एलिटहरूलाई फाइदा पुग्दा दलाल प्रवृत्ति मोटाउने गर्दछ । आजको जस्तो विकास नभएको पहिले पनि पृथ्वीमा ठूला प्रलयहरू जस्तो कि प्राकृतिक तथा रोगव्याधिले मानव सभ्यता समाप्त गरेकै हो । तसर्थ विकाससँगै प्रणाली विकास नहुँदा भद्रगोल देखिने र सबै कुरा खत्तम हो भन्ने लाग्दछ । विकास भनेको अनुशासन र सिस्टमसँग पनि जोडिएको कुरा बिर्सिनुहुँदैन ।

विकास मान्छेको लागि हो भन्ने कुरा हामीले भुल्नुहुँदैन । हामीकहाँ बढी उठान हुने शब्द प्रगतिशीलता भनेको पनि विकास नै हो । नेपालको विकासको लागि हामीले यूरोप वा अमेरिकाको उदाहरण मात्र लिनै पर्दैन । हाम्रो सामाजिक सांस्कृतिक निकटता भएका देशहरू पूर्वी एशियालाई हेरे पुग्छ । सिंगापुर, थाइल्याण्ड, मलेशिया आज विकासमा माथि पुगिसके । उनीहरूको प्रतिव्यक्ति आय, साक्षरता दर, कुल गार्हस्थ्य उत्पादन सबै उच्च छ । त्यहाँ वैदेशिक लगानी उच्च छ, १५ प्रतिशत भन्दा बढी । तर हामीकहाँ एक प्रतिशत पनि छैन । उनीहरूले कस्तो नीति ल्याए, जनतामा कस्तो चेतना फैलाए ? कार्यान्वयन संयन्त्र कस्तो बनाए ? यसबारेमा छलफल हुनुपर्छ । हाम्रो भूगोल र सामाजिक पक्षसँग मिल्ने मौलिक तरिका विकास गर्दै हामी अगाडि बढ्न जरूरी छ ।

पूर्वी एशियाले विकासको मोडेल जापानबाट सिकेको हो । युद्धले ध्वस्त भएको जापानले यूरोपबाट आधुनिक प्रविधि सिकेर समृद्ध बनेको हो । मलेशिया वा थाइल्याण्डकै विकासको मोडल पनि हाम्रा लागि सान्दर्भिक हुन सक्छ । अध्ययन-अनुसन्धान त्यतातिर हुनुपर्छ । तर हामी एकोहोरो नेपालको विकास भएन भनेर कराइरहेका छौं ।

एउटा सानो उदाहरण नै लिऊँ । नेपाल र थाइल्याण्डको एअरलाइन्स एउटै समयमा स्थापना भएका हुन् । आज थाई एअर विश्वभरि उडान भर्छ । यता नेपाल एअरलाइन्ससँग आधा दर्जन पनि जहाज छैनन् । यसैबाट थाहा हुन्छ हामी कसरी पछाडि पर्‍यौं ?

कतिले नेपालमा चीनको विकास-मोडेल लागू गरौं भन्छन् । त्यो पनि ठीक हो । विदेशी लगानी सफलतापूर्वक आफ्नो देशमा भित्र्याएको चीनबाट सिक्नुपर्ने कुरा धेरै छन् । उनीहरूले पूँजी र प्रविधिको विकासलाई एकैसाथ अगाडि बढाएका हुन् । कम्युनिष्ट भएर पनि चीनले आर्थिक बजारको क्षेत्रमा चमत्कार गरेको छ । जापान जस्तो देश नजिक भएकाले चीनले त्यताको विकास मोडेल पनि सिके । फेरि चीनको सभ्यता पनि पुरानो र अभिनव छ । भारतले पनि त्यही पदचाप पछ्याइरहेको छ ।

देशमा शान्ति-सुरक्षा कामजोर हुँदा, शिक्षा तथा स्वास्थ्य सुलभ र सस्तो नहुँदा, सामाजिक बन्धनहरू अधिकतम हुँदा, इन्टरनेट सुलभ नहुँदा, भरपर्दो विद्युत् आपूर्ति नहुँदा नयाँ पुस्ता देश छाडेर जान बाध्य हुन्छन् । हिजो चिनियाँहरू पनि बाहिर गएका थिए । जापानका विद्यार्थी बाहिर गएका थिए । उनीहरू सीप सिकेर स्वदेश फर्किए । यसैले सिक्न, सिकाउन विदेश जाने कुरामा हामीले बहस गरेर फाइदा छैन । जसले उन्नति गरेको छ, उसँग सिक्नैपर्ने हुन्छ ।

व्यक्ति र विकास

विकासको अवधारणामा ‘व्यक्ति’ भन्नाले मूलतः राजनीतिक व्यक्तिलाई बुझिन्छ । जनशक्ति पनि व्यक्तिकै अर्को रूप हो । तर लगानी, जनशक्ति र स्रोत परिचालन गर्ने काम नेतृत्वले गर्ने भएकाले राजनीतिक व्यक्ति नै विकासको लागि मुख्य जिम्मेवार हुन्छ । नेतृत्वसँग नीति र जनता जोडिएका हुन्छन् ।

एउटा व्यक्तिको प्रभावले सिंगो परिवर्तनलाई संस्थागत गर्न सक्छ । मलेशिया, सिंगापुरमा यो कुरा प्रमाणित भइसकेको छ । आखिर कसै न कसैले कुशल नेतृत्व दिन सकेन भने त विकास मात्र होइन, दैनिक प्रशासन समेत राम्रोसँग चल्दैन । हाम्रो देशमा २०४६ पछि धेरै नेता प्रधानमन्त्री भएको देख्यौं । तर नयाँ व्यवस्था आउँदैमा राज्यका निकाय प्रभावकारी हुन सकेनन् भन्नेछ । जसले विदेशी लगानी भित्र्याउने उचित वातावरण बनाउन सक्छ, सबैसँग सहकार्य गरेर अगाडि बढ्न सक्छ, लगानी मार्फत स्वदेशी उत्पादनलाई निर्यातमुखी परिणाम दिन सक्छ, त्यसलाई हामीले देश सुम्पने हो ।

उदाहरणका लागि वर्तमान इन्डोनेशियाका राष्ट्रपति जोको उइडोडोलाई नै हेरौं । उनी २००५ मा जाभा प्रान्तको फोहोर र अपराधले भरिएको सरकारको शहरका मेयर भए । पहिला यहाँ लुटपाट, हत्याहिंसा सामान्य थियो । उनले सृजनशील र जनताको संवाद तरिकाबाट फुटपाथको व्यवस्थापन गरे । उनी मेयर भएपछि त्यो शहरलाई पर्यटकीय स्थल बनाइदिए । आज त्यो शहर समृद्ध छ ।

यता नेपालकै विद्युत् प्राधिकरण हेर्ने हो भने कुलमान घिसिङको माइक्रो म्यानेजमेन्टलाई उदाहरणका रूपमा लिन सकिन्छ । यहाँनेर राजनीतिक नेतृत्व जनार्दन शर्मालाई पनि सम्झनुपर्ने हुन्छ । जनतामा निराशा बढेको कारण देश विकास हुन नसकेर मात्र होइन, विकासलाई हाँक्न सक्ने नेतृत्वको अभावमा जनता निराश भएका हुन् भन्ने कुरा यहाँबाट थाहा हुन्छ ।

२०४६ पछि नेपाललाई स्विट्जरल्यान्ड जस्तो बनाउने भनियो । कोहीले सिंगापुर बनाउने भने । जसले विकास गरेको छ- उसलाई आदर्श मानेर हामीले सिक्ने कुरा ठीक हो । तर के नेपाल सिंगापुर भयो ? वा स्विट्जरल्याण्ड जस्तै भयो त ? वा हामीले उनीहरूबाट केही सिक्यौं ?

हामीसँग के-के स्रोतसाधन र भूगोल छ, त्यसै अनुरूपको विकासलाई डोर्‍याउने नेतृत्व चाहिन्छ । विकास कुन मोडेलको लागू गर्ने, कुन देशबाट सिक्ने ठूलो कुरा होइन । नेतृत्वमा दूरदर्शिता, नयाँ सोच तथा प्रविधिमैत्रीय चाहियो । राज्यका निकाय तथा संस्थाहरूलाई मजबूत र प्रभावकारी बनाउने नेतृत्व चाहियो । हामीले विगत तीन शताब्दी यता देख्यौं धेरैजसो संस्थाहरू राजनीतिका कारण घाटामा गए, यसले पनि नेतृत्व तथा नीतिप्रति इंगित गर्दछ । असली ज्ञान वा प्रविधि सिक्नुचाहिं ठूलो कुरा हो । अनुशासन र प्रणाली बन्न नसक्दा ज्ञान तथा प्रविधिको सही प्रसारण हुन सक्दैन र विकास पनि भद्रगोल लाग्न सक्छ । जुन अहिले हामी देखिरहेका छौं ।

(विद्यावारिधि शोध-अध्ययन गरिरहेका चौधरीको ‘रूपान्तरण’ तथा ‘पूर्वी एशियाको आँखीझ्याल’ पुस्तक प्रकाशित छ ।)

वैदेशिक लगानीलाई किन हेयदृष्टि ?

Similar Posts

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *