संघीय गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभाका लागि यही मंसीर ४ मा संघ र प्रदेश दुवैमा एकसाथ निर्वाचन भएको छ । निर्वाचनसँगै नेतृत्व चयन र विकास तथा समृद्दिका कुरा जोडतोडले उठ्ने गरेको छ । यद्यपि बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको ह्यागं अझ गइनसकेको अवस्था छ, विशेषगरि युवा लहरको सन्दर्भमा । शहरी क्षेत्रहरुको प्रतिस्पर्धा रोचक र पहिले जस्तै अनुमान गर्न गाहे हुदै गएको छ । किनकि फलानो पार्टी वा विचारमा मानिस पहिलेको जस्तो खुलस्त देखिदैनन् ।
स्थानीय निर्वाचनमा जनताले विकासलाई डोरयाउन सक्ने गुणात्मक नेतृत्व खोजेको देखियो । त्यसताका एजेण्डा तथा विकासका रोडम्यापका कुराहरु बढी सुनिए । संसदीय निर्वाचनमा लामो समयदेखि नेपालका प्रमुख राजनीतिक दलहरु नै सहभागि हुदै आएकाले त्यहाँ घोषणापत्र तथा एजेण्डा भन्दा पनि गुट उपगुटले नै विशेष प्राथमिकता पाउदै आएको कुरा अन्तिम समयमा केही राम्रा मानिसहरु उम्मेदार हुनबाट बन्चित गरिनुले पुष्टि हुन्छ । विगतका उपलब्धिहरु सन्तोषजनक नरहेकोेले होला पुराना नेतृत्वमा जनतासँग प्रत्यक्ष संवाद गर्ने आँट नदेखिनु अस्वभाविक छैन । त्यसैले विकास भन्दा लोकप्रियतावादी राजनीतिक स्टन्टका कुरा बढी सुनिन्छ । जस्तो कि प्रतिगमन, दक्षिणपन्थबाट खतरा आदिका कुराहरु । यसमा एक अर्काको विना तर्क तथा तथ्य हुर्मत लिन सकिने भइयो ।
तर लोकप्रिय राजनीतिक स्टन्ट नाराले मात्र सफल नहुने रहेछ भन्ने कुरा एक महिना मै बेलायतको प्रधानमन्त्री पदबाट बर्हिगमन हुनु परेकी चर्चित लिज ट्रसको लोकप्रियतावादी नेतृत्वको अवसान भएको छ । बेलायतको आर्थिक दुरावस्था नियन्त्रणमा तिनी असफल रहिन् । यसले नेतृत्वमा स्पष्ट भिजन र कार्यान्वयन दक्षता हुन आवश्यक रहेको कुराको बोध गराउँछ । त्यहीनेर उनका प्रतिस्पर्धी रिषी सुनक टोरी पार्टीबाट निर्विरोध प्रधानमन्त्री भएका छन् । कारण हो उनको आर्थिक नीतिप्रतिको भिजन र एजेण्डा ।
तर नेपालमा भिजन तथा घोषणापत्र÷एजेण्डा नेतृत्व आफैंले नलेख्ने हुनाले यो ड्राइभिङ्ग सिटमा बस्ने नेतृत्वकालागि वाचन गर्ने दस्तावेज मात्र बन्दै आएको छ । किनकि यहाँ नेतृत्व बौदिक नभएपनि हुन्छ भन्ने वुझाई छ । जबकि विकसित देशहरुमा ड्राइभिङ्ग सिटमा बस्ने नेतृत्वकर्ताले नै एजेण्डाहरु बनाउने गर्छन् र यस उपर पर्याप्त वहसहरु हुने गर्छ । त्यहाँ नेतृत्वको भिजन देख्न सकिन्छ ।
नेपालमा अहिले पनि धेरैकोे सवाल हुने गर्दछ— सम्भावनाहरुका बाबजूत आखिर नेपाल किन बनेन ? नेपाल अझ पनि विकास तथा समृद्दिको सवालमा संघर्षरत रहेको र विकास र नेतृत्वको सन्दर्भमा ग्याप रहेको स्पष्ट देख्न सकिन्छ । यद्यपि विकासका सम्भावनाहरु नभएका होइनन् । नेपालको सामाजिकआर्थिक पक्षसँग मिल्दो सिंगापुर वा दुवईको जस्तो व्यापारिक ट्रान्जिट केन्द्र तथा प्राकृतिक÷सांस्कृतिक पर्यटन क्षेत्र विकासबारे दलहरुको घोषणापत्रमा उल्लेख भएता पनि यसको कार्यान्वयन पक्ष स्पष्ट देखिदैन् । उर्जा तथा सिमेन्ट उत्पादनमा आत्मनिर्भरता बढेको छ र केही निर्यात हुन थालेको छ तर यसको दीर्घकालिनतामा कतिको ध्यान गएको छ थाहा भएन । हाम्रो उत्पादन निर्यातको अवस्था अलि कमजोर र जटिल मान्नु पर्छ, प्रविधि तथा बजारको सन्दर्भमा । खाद्य सुरक्षाकालागि कृषिको महत्व सवैको घोषणापत्रमा पढ्न पाइन्छ तर यसका लागि मल तथा सिँचाई र तालिमको अभाव कमैले खोट्याउँछन् । नेपालको विकासको सन्दर्भमा सबैभन्दा ठूलो समस्या नै कनेक्टिभिटी अर्थात प्रभावकारि यातायात र गुणस्तरीय बाटोको अभाव मानिन्छ । किनकि योे आम सर्वसाधारणदेखि सबैसँग जोडिएको हुन्छ र यसले गरिबी मात्र हटाउन मद्दत गर्देन अनुशासन बसाल्नमा यसको महत्वपूर्ण भूमिका रहन्छ । तर घोषणापत्रमा यसको उल्लेख हुने बाहेक जोकोही सरकारमा आएपनि बर्षो बाटो बन्दैन, मेट्रो तथा मोनोरेल कागजमा सिमित बन्छ । त्यसैगरि विकासको सन्दर्भमा सही र प्रभावकारि वित्तिय तथा मौद्रिक नीतिसँगै विकाससँग प्रत्यक्ष ठोक्किने जग्गा, वन तथा वातावरणीय संरक्षण आदि नीतिहरु विकासमैत्री छन्, छैनन शायद कमैलाई थाहा होला । त्यही नेर अन्तर मन्त्रालय समन्यव सवैभन्दा महत्वपूर्ण रहेको कुरा कसैको घोषणा पत्रमा देखिदैन । गुणात्मक शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सबैको सहज पहँुच आवश्यक रहेको करा दलहरुको घोषणापत्रमा लेखिए पनि यसको प्राप्ति बारे सन्तोषजनक तर्क भेट्न गाहे छ ।
विकासको कार्यान्वयन तह सवैभन्दा फित्लो मानिन्छ । निकाय पिच्छे धाउनु पर्ने अवस्था नभएको होइन् । मन्त्रालयहरुबिचको समन्वय तथा सहकार्यमा प्रशस्तै प्रश्नहरु नभएको होइन, यस ऊपर नेतृत्व बौल्दैन । सही पदमा सही व्यक्तिको आवश्यकता हरेक ठाउँमा देख्न सकिन्छ । राजनीतिक सिद्दान्तको कुरा यहाँ धेरै हुन्छ तर नेतृत्व सिद्दान्तहरु उपर खासै ध्यान देखिदैन । नेतृत्व सिद्दान्तहरुले उर्जावान, दुरदर्शि, सक्रिय र विशेषगरि प्रभाव र काम गर्ने शैलीलाई महत्व दिन्छ । राजनीतिक नेतृत्वले जनताको सहभागिता तथा विश्वास लिएर नीति नियम बनाउँने र सवैलाई अगाडि बढाउने हो । नेतृत्वले एक वर्षको भिजन होइन कमसेकम १० वर्षको भिजन राख्न सक्नुपर्छ भनिन्छ । भिजनको कमीले नै होला नीति नियम आएको ३ महिनामै संशोधन हुने गर्छ । त्यसैले नेतृत्व सिर्जनशील हुन आवश्यक मानिन्छ जसको भिजनबाट मानव कल्याणमा सहयोग पुग्न सकोस् । केवल अरुमाथि कटाक्ष गर्ने नेतृत्वकर्ता सृजनशील हुन सक्दैन । अमेरिकी शोधकर्मी जेम्स बर्नको परिवर्तनशील नेतृत्व सिद्दान्तले नेतृत्वमा विशिष्ट प्रभाव पार्न सक्ने गुण हुनु पर्छ जसले समकक्षी, कार्यकर्ता र आफनो मातहातका मानिसलाई कुनै पनि काम फत्ते गर्न उत्प्रेरित गर्छ र समकक्षी तथा कार्यकर्ताहरुलाई पनि आफूसँगै अगाडि लानु पर्छ भन्ने मान्यता राख्दछ ।
यस सिद्दान्तको कसीमा हेर्दा नेतृत्व विकास नेतृत्व सिद्दान्त विपरित सानो झुण्ड तथा समूहमा खुम्चिने र सत्तामा पुगेपछि दलीय तथा गुटबन्धीमा रमाउने प्रवृत्ति रहेको प्रष्ट देखिदै आएको छ । माथि गएपछि तल नओर्लिने र अरुलाई सकभर माथि जान नदिने प्रवृत्ति सामान्य लाग्न सक्छ । समकक्षी तथा कार्यकर्तालाई सधै कार्यकर्ता मै सिमित राख्न खोज्ने प्रवृत्ति पनि सामान्य लाग्न सक्छ, यसले नेतृत्व विकास तथा हस्तान्तरलाई निषेध गर्दे आएको छ ।
अध्ययनहरुले नेपालमा राजनीतिक नेतृत्वप्रति आम मानिसमा सकारात्मक धारणा कम रहेको देखाउँछ । देशको नेतृत्वकर्ताले देशमा सिस्टम बसाल्ने अनि लगानीको वातावरण बनाउने हो तर ड्राइभिङ्ग सिटमा बस्दै आएका नेतृत्वकर्ता स्वयं सिस्टम बन्न नसकेको कुरा सगर्व स्वीकार्छन् । तर यसको जिम्मेवारी लिन हिच्किचाउँछन् । जबकि विकास र सिस्टम एक अर्कासँग कही न कही जोडिएको कुरा नेपालको सामाजिक तथा सांस्कृतिक पक्षसँग मिल्दोजुल्दो सिंगापुर र मलेशियाको आधुनिकता र विकासबाट प्रष्ट हुन्छ ।
सन् १९९० यता नेपालको धेरै समकक्षी देशहरुले फड्को मारेको सन्दर्भमा नेपालमा परिवर्तनहरु संस्थागत हुन अलि हम्मे परिरहेको अवस्था कसैबाट छिपेको छैन । सुशासनको विश्व रैकिंगमा नेपाल पुछारमा रहेको तथ्याङले कमजोर स्रोत साधनको परिचालन क्षमताको संकेत गर्छ । कार्यान्वयन तह निकै कमजोर रहेको कुरा वर्षो आयोजनाहरु झुलिरहनुले प्रष्ट भन्छ । मल्टिडाइमेन्सनल गरिबी २०२१ को प्रतिवेदन अनुसार नेपालमा करिब ५० लाख भन्दा बढी मानिस गरिबीको रेखामुनि छन् । महंगीमाथि लगाम छैन । तसर्थ रोजगारि र आम्दानी बढाउने र आर्थिक क्षेत्रलाई दीगो बनाउन सक्ने भिजनरी, सृजनशील र जवाफदेयि गुण र कार्यदक्षता भएको नेतृत्व अहिलेको आवश्यकता हो ।