“अमेरिकी आप्रवासन तथा डिपोरटेशन नीतिको नेपालसँगको मूल निहितार्थ भनेको आफ्नै देशमा लगानीमैत्री वातावरण बनाई अत्यधिक रोजगारी सृजना गर्ने माहौल बनाउन नितान्त आवश्यक छ भन्ने हो ।”
# २० जनवरी २०२५ का दिन ४७ औं अमेरिकी राष्ट्रपतिमा डोनाल्ट ट्रम्पको आगवनसँग अमेरिकामा बिना कागजात बसिरहेकाहरुलाई देश निकाला गर्ने नीतिको कठोर कार्यान्वयनले विश्वव्यापी रुपमा ध्यान तानेको छ । नेपाल पनि यसबाट अछुतो रहन सक्दैंन । भनिन्छ युवाहरुको सपनाको संसार मध्ये एक अमेरिका पनि हो । सम्भावना र भविष्यको रुपमा अमेरिकालाई लिनेहरु लाखौं खर्चेर अमेरिका जान मरिहत्ते गर्छन । राम्रो पढेलेखेका र आम मानिसहरुको करियर र कमाउने सन्दर्भको पहिलो गन्तव्य देशको सूचीमा अमेरिका पर्ने गर्दछ । उदाहरणको लागि नेपालको लोक सेवा आयोग वा अन्य कुनै नाम चलेको कम्पनीको लागि खुलेको आवेदनमा त्यत्ति निवेदन पर्देन जत्ति अमेरिकाको डीभी तथा अन्य भिसाको लागि खुल्दा पर्छ ।
तर डोनाल्ड ट्रम्पको आवागमन र उनको डिपोरटेशनको नीति कार्यान्वयनसँगै त्यहाँ रहदैं आएका नेपालीहरु र अमेरिका जान चाहने नेपालीहरु माझ घोर निराशा र अन्योलता थपेको बुझिन्छ । तर यसको निहितार्थ नेपालको सन्दर्भमा के हुन सक्छ भन्ने बारे खासै राम्रो विश्लेषण भएको देखिदैंन । यसलाई नेपालको आर्थिक पक्षबाट हेर्ने सानो जमर्र्को गरेको छु । यहाँनेर धेरैलाई लाग्दो हो, लाखौं खर्चेर मानिसहरु अमेरिका जान्छन्, के त्यो पैसाले आफ्नो देशमा केही गर्न सकिदैंन भन्ने छ । धेरैले यो गफाडीको गफ हो भन्छन्, यहाँ केही हुदैंन भन्छन् । यहाँ काम गर्ने वातावरण नै छैन, भन्ने कुरा व्यापक रुपमा सुनिन्छ । बिगत केही महिना, केही वर्षयता धेरै पढेलेखेका र ब्यापारव्यवसाय गर्ने मानिसहरुको मुखबाट पनि यस्तै खाले कुरा सुन्दै आएको छ । आर्थिक जीवीकोपार्जन गर्ने सन्दर्भमा घोर निराशाका कुराहरु सुन्ने गरिन्छ । केहीले यसलाई नकारात्मक सोचको उपज भनेर पण्डित्याई हाँक्छन् । तर म पनि दृण भएर भन्ने भएको छु कि यहाँ काम गरेर खाने वातावरण सहज छैन । मलाई नकारात्मकता तथा सकारात्मकता थाहा छैन, यो माथिको कुरा चाँहि धेरै हदसम्म सत्य हो । यो कुरा धेरैलाई थाहा छ तर यसको सुनुवाई नभइरहेको अवस्था छ । प्रमुख राजनीति दलहरु र तिनका नेतृत्व तथा प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वहरु काम गर्ने वातावरण बनाउँछु भन्छन् तर पनि मानिसहरु काम गर्ने वातावरण नै भएन भन्न छाड्दैंनन् ।
काम गर्ने वातावरण भनेको के हो त भन्ने प्रश्न उठन सक्छ ? नोकरी खानु परयो कि त आफ्नै ब्यापार व्यवसाय गर्न सक्नु परयो । सरकारी नोकरी खानेहरु पनि अमेरिका मौका मिल्यो भने जागिर छाडेर टाप गर्न पछि पर्देनन् । नोकरी खान खोज्न सहज छैन । जहाँपनि आफ्नो मान्छे चाहिने प्रथा छैन कसले भन्न सक्छ र । ब्यापार व्यवसायको वातावरण भएन भन्ने व्यापकता छ । अब के होला त भन्ने प्रश्न उठ्छ ।
म ठूलो कुरा गर्दिन । अमेरिकी डिपोरटेशन नीतिसँगै धेरै नेपालीहरु नेपाल फर्किने छन्, यो वास्तविकता हो । अन्य देशहरुले पनि कडाइ गर्नेछन् । रोजगारीको कुरा उठने छन्, यो पनि सत्य हो । यसको एक निहितार्थ भनेको नेपालमा काम गर्ने वातावरण बनाउ भनेको पनि हो भन्ने लाग्छ मलाई । नेपाल मै राम्रो रोजगारीको थप व्यवस्था गर्नु पर्ने चुनौतिलाई आत्मसात गर्न जरुरी छ । ब्यापार व्यवसाय गर्ने वातावरण बनाउनु पर्नेछ । अमेरीका वा विकसित देशहरुमा जसरी आफ्नो मान्छे वा दलाल नलगाई जागिर भेटिन्छ, त्यसरी नै नेपालमा जागिर भेट्ने व्यवस्था गर भनेको हो भन्ने अर्थमा बुझनु पर्छ । यो दशकौं देखि उठ्दै आएको विषय हो तर पनि यसो हुन सकेको छैन । अर्को भनेको ब्यापार व्यवसाय दर्ता गर्ने, कर तिर्ने र यसको नवीकरण गर्ने प्रकृयाका कुराहरु छन् । यसमा सहज र न्यूनतम आम्दानी नहुेलाई सोही अनुसारको कर तथा नवीकरण शुल्य लाग्ने, नलाग्ने अनलाइन व्यवस्थालाई प्रभावकारी बनाउने कुरासँग सम्बन्धित छ । नेपालीहरुले अन्तराष्ट्रिय आइटी क्षेत्रमा मनग्यै आम्दानी गरिहेका छन् । तर प्रश्न उठ्छ के हाम्रा नीति तथा तिनको कार्यान्यवनमा आइटीलाई सहज ढंगले किन प्रयोगमा ल्याउन सकिरहेका छैनौं । अहिलेको पुस्ता चाकरी र धाउने प्रवृत्तिमा रमाउन चाहदैनन् भन्दा यो नकारात्मक वा सकारात्मक हो थाहा भएन, तर यो पनि सत्य हो । नियमको पालना सबैभन्दा महत्वपूर्ण छ, यसले ब्यापार व्यवसायको वातावरण बनाउन सघाँउने हो । अमेरिकी वत्र्तमान आप्रवासन तथा डिपोरटेशन नीतिको नेपालसँगको मूल निहितार्थ भनेको आफ्नै देशमा लगानीमैत्री वातावरण बनाई अत्यधिक रोजगारी सृजना गर्ने माहौल बनाउन नितान्त आवश्यक छ भन्ने हो ।
भर्खरै नेपालका अर्थमन्त्रीले नेपालको अर्थतन्त्र ब्याक गियरबाट गियर परिवर्तन गर्ने ठाँउसम्म आइपुगेको र यसलाई अगाडि बढाउने प्रयासमा सरकार रहेको भनेका छन् । अबको गियर यि कुराहरुलाई सम्बोधन गरेर अगाडि बढ्छ बढ्दैन भन्ने हो । अमेरिका जान लाखौं रिण पाउने अनि आफ्नै देशमा ब्यापारव्यवसाय गर्छु भन्दा रिण नपाउने अवस्थाको अन्त हुन पनि आवश्यक छ । जसरी अमेरिका गएपछि रिण तिरछ भन्ने बुझाइ छ, त्यसरी नै स्वदेशमा यो सम्भव छ भन्ने वातावरण को आवश्यकता छ यहाँ ।
Kathmandu, Nepal
11 February 2025
Draft Version