के विकास सरुवा रोग हो ?
– दिपक चौधरी
नेपालमा निराशा तथा नैराश्यताका कुराहरु सुनिनु सामान्य बनेको छ । मानिसहरुमा राम्रो रोजगारिका लागि बिदेशिने प्रवृत्ति र आयतन दुबैमा भारि बढोत्तरी यससँग कहीनकहीै जोडिएको मानिन्छ । यसको एतिहासिक पक्ष (लाहुरे संस्कृति) सँगको कुरा त छदैंछ । प्राकृतिक स्रोत तथा सांस्कृतिक रुपमा धनी भनिएता पनि ति स्रोतहरुको सही र आवश्यक मूल फुट्न नसकेको, राम्रो रोजगारीको अवस्था सृजना हुन नसकेको, लगानीको उचित वातावरण बन्न नसकेका कुराहरु पनि उत्तिकै सुनिन्छन् । त्यसैगरि नीजि क्षेत्रमा रोजगारि भरपर्दो र गुणात्मक भएन भन्ने कुरा पनि आइरहेको छ । सरकारी जागिर नै सुरक्षित र उत्तम भन्ने भाष्य बनेको छ । सिद्दान्ततः ठूलो र भद्दा ब्यूरोक्रेसी आर्थिक विकासका लागि राम्रो मानिदैन । यि सब कुराहरुबाट ब्यापार-व्यवसाय तथा उद्यमशीलता राम्ररी फस्टाउन नसकेको बुझ्न गाह्रो पर्देन । । धेरै क्षेत्रमा सकारात्मक भन्दा नकारात्मकता बढी सुनिन्छ । यसको मतलव समस्याहरु धेरै छन् भन्ने हो । विकासले समस्याहरु भोगिरहेको छ भन्ने पनि हो ।
अर्को महत्वपूर्ण तथ्य र अवलोकन के छ भने हाम्रा दुई ठूला जनसंख्या भएका छिमेकी देशहरुको आर्थिक विकासको रफ्तार राम्रो मानिन्छ । तर सोही रफ्तारलाई पछ्याउन नसक्दा हामीमा एकखाले न्यास्रो तथा छट्पटीको अवस्था हुनु स्वभाविक छ । बिगत तीन दशक यता चीनको छलाङ् अद्भूत र आश्चर्यजनक भएता पनि ऐतिहासिकता, भौगोलिक तथा भाषा दूरीका कारण चीन हाम्रा लागि अनुकरणीय बन्न सकेको छैन् । त्यहाँको द्रुत विकासको हावाले छुन सकेको छैन । जसरी लाओस तथा कम्बोडियालाई छोएको छ । नेपालसँग मिल्दोजुल्दो धर्म संस्कृति तथा ६० वर्ष अघि लगभग उस्तै आर्थिकसामाजिक अवस्था रहेका पूर्वी एशियाका देशहरुको आर्थिकसामाजिक छलाङ्ले पनि हामीलाई सोच्न बाध्य पारेको छ । विगत एक दशकता भारतको आर्थिक बृद्दि दर र बिशेष गरि भौतिक पूर्वाधार विकासको रफ्तारले विकास सर्दै नजिक आएको देखिन्छ तर यसलाई क्यास गर्न हामी संघर्षरत प्रयास मै छांै कि छैनौं भन्ने हो ।
यसको मतलव हामी कहाँ विकास हुँदै नभएको पक्कै होइन । संस्कृति तथा वास्तुकलामा हाम्रो आफ्नै इतिहास नभएको होइन । आधुनिकताको सन्दर्भमा गुणात्मकतालाई बिर्सिने हो भने अहिले सडक सन्जालले नछुएको पालिका औलामा गन्न मिल्ने होलान् । साक्षरता दर ७० प्रतिशत भन्दा पुगेको छ । विजुली लगभग अधिकांश पालिकामा पुगेको छ । ३०–४० वर्ष अघि शौचालय नभएको अवस्था थियो भने आज स्थायी तथा अस्थाई संरचनाका शौचालय अधिकांश गाउँठाउँमा देख्न सकिन्छ । नेपालीहरुको पहँुच अन्तराष्ट्रिय क्षेत्रमा बढ्दै गएको छ । तर पनि नेपाल भित्र अविकासका बारे प्रश्नहरु उठ्दै आएका छन् । धेरै नेपालीहरुको पहँुच इन्टरनेट र बिदेशमा बढेको हुँदा बिदेशमा देखिने चुस्त सडकसन्जाल, यातायात, आकर्षक रोजगारि तथा स्वतन्त्र जीवनशैली र सिस्टमका कुराहरुले आम मानिसहरुलाई छुनु स्वभाविक छ । तर विकासमा महत्वपूर्ण मानिएको सडक सन्जाल तथा यातायातको अवस्था कहालीलाग्दो रहेकोमा दुइमत छैन । मैले बारम्बार भन्दै आएको छु, आम मानिसमा सिस्टम बसाल्न चुस्त यातायात प्रणालीको सबैभन्दा महत्वपूर्ण देन रहन्छ किनकि यो सबैसँग जोडिएको छ । सिस्टमको सवालमा विकासमाथि प्रश्न गर्ने प्रशस्तै ठाउँ छन् । विकासको एउटा उच्चतम् मापन भनेको सिस्टम बस्यो बसेन भन्ने नै हो । अझ पनि पहुँचवाला व्यक्ति तथा परिवारको पछि लाग्नु पर्ने अवस्थाको अन्त हुन सकेको छैन । पछिल्लो पटक देखिएको मिटरब्याजी र सहकारी प्रकरणहरुले नेपालमा अझ पनि सामन्तवादको अवशेष रहेको संकेत गर्दछ । यसको मतलव प्रविधिको प्रयोग व्यापक हुन सकेको छैन, सुशासनका कुरा पनि छन् ।
एकथरिको भनाइमा नेपालमा आफ्नै रोजगारी अवस्था सुदृण हुनु भन्दा बैदेशिक रोजगारि र भूमण्डलीकरणका कारण नेपालीहरुको सामाजिकआर्थिक जीवनमा परिवर्तन आएको हो । बाहिर गएका नेपालीहरुको रेमिटेन्सबाट मानिसहरुको आर्थिक अवस्था सुध्रिएको देखिएता पनि देशको आर्थिक विकासप्रति स्वयं प्रधानमन्त्री संतुष्ट देखिन्न । अध्ययनहरुले विकास ऐतिहासिक पक्षसँग सम्बन्धित छ भन्छ । अर्थात विकास एकाएक च्याउ झै उम्रिने कुरा पनि होइन भनिन्छ । भिजन, अठोठ र इमान्दारीता यसका पूर्व शर्त हुन् । विश्वमा धेरै सभ्यताहरु प्रकट भए र तिनका भौतिक, आर्थिक, सांस्कृतिक तथा मानवीय विकासमा आआफनै योगदानहरु छन् । लामो समयको आरोह अवरोह यात्रा पछि मानव यहाँ सम्म आएको र विज्ञानको आविष्कारसँगै विकास चाँडै विश्वव्यापी सर्न सफल भएको हो । पश्चिमाको नजिकी भएर होलो गैह् क्रिष्चानीटी टर्की आधुनिक विकासमा अगाडि देखिन्छ । एशियाकोे सन्दर्भमा जापानको विकासको चर्चा हुने गर्दछ । बुद्दिज्मले ठूलो स्थान पाएको जापानले अठारौ शताब्दीबाट यूरोपको पुर्नजागरण र विज्ञान विकास भित्राएको कुरा पढ्न पाइन्छ । जापानलाई हामी यूरोपेली भन्दा के कम भन्ने देखाउनु थियो रे ! आज जापान पूर्बी एशियाका लागि विकासको सन्दर्भमा रोल मोडेल बनेको छ । त्यहीनेर दक्षिण कोरिया र चीनमा पनि जापानको विकासका प्रभावहरु देखिए । यूरोप अमेरिकाबाट आधुनिक विकास जापान हुँदै पूर्बी तथा दक्षिण एशियातर्फ फैलिएको देखिन्छ । दोस्रो विश्वयुद्द् पछि यसको रफ्तार तीव्र भएको हो । सन् १९७८ बाट उदारिकरण नीति अपनाएको चीनले सन् २००० मा आर्थिक वृद्किो टेकअफ् चरणमा प्रवेश गर्दै हाल अमेरिका पछि विश्वको दोस्रो आर्थिक शक्तिको रुपमा उदाउन सफल भएको छ ।
त्यसैगरि सन् १९७५ बाट पूर्बी एशियाका देशहरु मलेशिया तथा थाइलैण्डले जापानलाई हेर्दे पूर्बी एशिया हेर नीति मार्फत लगानी र प्रविधि भित्राउन सफल रह्यो र मलेशिया विकासको सन्दर्भमा रोल मोडेलका रुपमा देखा परेको छ । यसरी जापानबाट पूर्बी एशियासम्म विकास सर्दै आएको देखिन्छ । भारतमा पनि द्रुत रेलमार्ग लगायत अन्य ठूला जटिल विकास आयोजनाहरुमा जापानको सहयोगलाई स्वीकारिएको देखिन्छ । तर दक्षिण एशियामा यसको आगवन ढिला भयो कि भन्ने छ । यद्यपि औद्योगिक क्रान्तिका प्रवत्र्तक ब्रिटेनले सयांै वर्ष भारतमा शासन गरे कै हो भने नेपालको ब्रिटेनसँगको सामिप्यता कसैबाट छिपेको छैन । तर पनि भारतमा विकास(आधुनिक) व्यापक रुपमा फैलिन सकेन भन्ने छ । यसका लागि सन् ९० पछिको भूमण्डलीकरणलाई नै कुर्नु परयो । सन् ९० दशकमा चीनको विकासले भारतलाई अघि बढ्न घच्घचाएको मानिन्छ । बिगत एक दशकयता भारतमा भौतिक पूर्वाधारको विकासले भारतलाई सन् २०२४ मा आर्थिक बृद्दिमा टेकअफ् चरणमा प्रवेश गराएको भन्ने विश्लेषणहरु आएका छन् । चीन सन् २००० मा यो चरणमा प्रवेश गरिसकेको थियो । अहिले भारतमा सडक तथा रेल र हवाजहाज सन्जालमा क्रान्ति नै आएको छ र यसले हामीलाई पनि अघि बढ्न घचघचाएको अवस्था छ ।
भारत विश्वको पाँचौ ठूलो जीडीपी बन्न सफल भएको छ र एकाध वर्षमै जापानलाई उछिनेर चौथौ बन्नेछ । केन्द्रमा बिहारका नीतिन कुमारको समर्थनले बिहारमा अहिले ठूला आकारमा सडक सन्जाल तथा हाइस्पीड रेल आयोजनाहरु प्रस्तावित भएका छन् । नेपालको लामो सिमाना छुने र धेरै जनसंख्या भएका भारतका राज्यहरु बिहार र यूपीको विकासले नेपालको विकासमा विशेष मायने राख्ने हुनाले यसको चर्चा गरिएको हो । र यहाँ आउने विकासको प्रभाव नेपालमा पर्नु स्वभाविक छ । यद्यपि त्यहाँ पनि विकास पश्चिम र दक्षिण राज्यहरुमा बढी केन्द्रीत देखिन्छ । नेपालसँग सिमाना जोडिएको बिहार र यूपीको सडकसन्जालको विकास लखनउ र गंगा नदीको किनारतर्फ केन्द्रीत देखिन्छ । नेपालतर्फ सर्न सकको छैन भन्ने हो ।
हामी कहाँ विकासले गति लिन नसक्नुमा कतिपयले सांस्कृतिक कारण त कतिपयले भ्रष्टचार, त कतिपयले राजनीतिक तथा आर्थिक नीति त नेतृत्व र सुशासनको अभाव, र कतिपयले बाह्य कारण जस्तो कि असमान सन्धि सम्झौता तथा भूराजनीति आदि कारणहरु छन् । तर यसको अर्को पाटो के पनि हो भने यो एक अर्काबाट सिक्ने कुरासँग, रुची र प्रतिस्पर्धी भावनासँग बढी सम्बन्धित देखिन्छ भन्दा अतियुक्ति नहोला । एक्लकाटे पाराले नहुने रहेछ भन्ने कुरा बुझ्न गाहे पर्देन । कुटनीतिक तथा सम्बन्धका कुराहरु महत्वपूर्ण मानिन्छन् । चीन कम्यूनिष्ट भइकन पनि पश्चिमासँगको सफल कुटनीतिक सम्बन्धबाट मनग्गे फाइदा लिन सफल रहेको कुरा कसैबाट छिपेको छैन् । इतिहासकार महेश चन्द्र रेग्मीलाई सम्झदा, सुगौली सन्धिपछि नेपाल सानो छ, दुई ठूला देशका बिचमा भएकोले विकास भन्दा आफ्नो अस्तित्व बचाइ राख्ने मानसिकताले अहिले पनि काम गरेको छ कि भन्ने पनि छ । भूराजनीतिक पक्षमा बढी घोत्लिने हाम्रो बाँनी परेको छ । त्यहीनेर नेपालको अवस्थिति तथा अवस्थासँग मिल्दोजुल्दो हिजोको स्वीजरल्याण्ड तथा आजको लाओस माथि पनि विचार गर्नु पर्दछ जस्तो लाग्छ । तिनीहरुले भूराजनीतिलाई सन्तुलन गर्दे कसरी अघि बढे भन्ने हो ।
विकासका लागि निरन्तर सम्पर्क, सहकार्य र सकारात्मक प्रतिस्पर्धी भावना पनि चाहिने रहेछ भन्ने कुरा बुझ्न गाह्रो पर्देन । बाहिर गएका नेपालीहरु यहाँका भन्दा धेरै कुरा अगाडि देखिनु पनि यससँग सम्बन्धित छ । एक किसिमले हामी पनि तिमीहरु भन्दा के कम छौ (सकारात्मक रुपमा) भन्ने भावना हुनु पनि आवश्यक मानिन्छ । नेपालले आफ्ना उद्यीमान दुई देशसँग कुन कुन क्षेत्रमा सहकार्य गर्ने र कहाँ मिल्ने भन्ने सिमा कोर्ने सवाल अत्यन्तै महत्वपूर्ण छ जस्तो लाग्छ । मलाई कहिलेकाँही भन्न मन लाग्छ कि हामी (दक्षिण एशिया) मा सिक्ने सिकाउने र विकासलाई हार्दिकतापूर्वक बढाउने जागर छैन कि भन्ने हो, तर यो पनि शतप्रतिशत सत्य होइन । तर भारत वा दक्षिण एशियाको प्रयासबाट मात्र प्रगतिशील सामाजिक बदलाव सम्भव छ छैन भन्ने पनि हो । बंगलादेशमा चीनको भौतिक पूर्वाधार विकासले त्यहाँ सामाजिक क्षेत्रमा राम्रै छाप छोडेको सुन्न पाइन्छ । यहाँको जातीय, लैगिंक तथा उत्पीडन तथा बहिष्करणबाट थिलथिलो समाजकालागि प्रविधि तथा पूर्वाधार विकास अपरिहार्य मानिन्छ । यसमा पूर्बी तथा उत्तरी एशिया निकै अगाडि रहेका छन् । त्यहाँबाट यहाँ सार्न जरुरी जस्तो देख्छु, किनकि विकास सहकार्य पनि हो ।
जसरी देश देशको कुरा आउँछ, त्यसरी नै देशभित्र पनि देशको राजधानीबाट प्रादेशिक राजधानी, त्यहाँबाट जिल्ला र अन्तमा स्थानीय निकायमा विकास अनुकरीण तथा प्रसारणीय हुँदै जाने हो । देशको राजधानी नै अस्तव्यस्त छ, यहाँ विकासले राम्ररी काम गर्न सकेको छैन, भन्नै पर्देन्, अवलोकन गरे पुग्छ । विकास अझ पनि यहाँ राम्ररी सर्न सकेको छैन, केही सिमित व्यक्ति परिवारमा मात्र सरेको हो कि जस्तो लाग्ने । तर ठाउँहरु सिस्टममय हुन सकेको छैन, विकास प्रवाह गर्ने संस्थाहरु सिस्टममय् हुन सकेको छैन, विकासले अलिकति मात्र छोएको छ, काम चलाउ मायनेमा हो कि भन्न मन लाग्ने । तर अब विकास नजिक नजिक आउन थालेको चाँहि पक्कै हो । माथिका केही दृश्टान्तबाट विकास सरुवा रोग हो (सकारात्मक) भन्ने हो । तर यसको फैलावट गुणात्मक छ छैन भन्ने पनि हो । यसकालागि प्रयासहरु भई रहेको भन्नु पर्ला, निराशा किन हुने, आखिर विकास प्रकृया पनि हो भन्न सकियो ।
अहिलेलाई यत्ति नै ।