अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिकहरुको फिर्तीसँगै तालिबानको बिना रक्तपात सत्ता कब्जाका कारण अहिले अफगानिस्तान पुनः चर्चामा छ । यसलाई केहीले सन् १९९६ मा तालिबानको उदयको रूपमा सम्झिरहेका छन् । केहीले अमेरिकी बर्हिगमनलाई सन् १९७५ ताका उत्तरी भियतनामको अमेरिकी उपस्थिति रहेको दक्षिण भियतनाम माथिको विजयपछि दक्षिण भियतनामको राजधानी साइगोन (हालको होचिमिन्ह शहर) बाट अमेरिकीहरुको बर्हिगमनको रुपमा पनि सम्झे ।
केही पश्चिमाहरुमा अर्को बिन लादेनको उदयको चिन्ता रहेको बुझिन्छ । जेहोस् अफगानिस्तानको घटनाक्रमसँगै अफगानिस्तानको भविष्य तथा यसको क्षेत्रीय तथा अन्तराष्ट्रिय प्रभावहरूका बारे बिभिन्न अड्कलबाजीहरू गरिन थालिएको छ ।
नेपालको चिन्ता र चासो भनेको सम्भवतः त्यहाँ हजारौ संख्यामा रहेका नेपालीहरुको रोजगारी गुम्ने पक्षसँग सम्बन्धित मानिन्छ । त्यहाँ फसेकाहरूलाई त्यहाँबाट सुरक्षित रूपमा नेपाल ल्याउने चुनौति थपिएको छ । त्यहाँ धेरै नेपालीहरु प्राविधिक तथा सुरक्षा क्षेत्रमा काम गर्दै आएका छन् । नेपाली प्राविधिकहरुको त्यहाँको लघु जलविद्युत क्षेत्रमा राम्रै देन रहेको मान्नुपर्छ ।
अफगानिस्तान को इतिहास नेपालसम्म थोरै भएपनि ठोकिने गर्दछ । जमानामा यो ठाउँ दक्षिण एशिया प्रवेश गर्ने तथा सिल्क रोडको मार्ग थियो । इसापूर्वको अन्ततिर गन्धार (हाल कान्दहार) बौद्ध कलासंस्कृतिको केन्द्रको रुपमा रहेको र मध्यकालमा भारतको दिल्ली चढाई गरी शासन गरेका केही अफगानीहरुको सम्बन्ध नेपालका केही जातजातिसँग जोडिएमा आश्चर्य मान्नु पर्दैन । इतिहासकार इमानसिंह चेम्जोङले भन्ने गरेको त्यहाँको हजरा जातिको नेपालका केही जनजातिसँगको सम्बन्धको कुरा होस् । त्यहाँको द्धन्दबाट सबैभन्दा बढी मार पर्नेमा त्यहाँको सिधासाधा हजरा जनजाति नै हो ।
अर्को भनेको यसको क्षेत्रीय तथा अन्तराष्ट्रिय प्रभावका कुराहरू छन् । अफगानिस्तानमा तालिबानीको उदय र अमेरिकी बर्हिगमनसँगै अमेरिकी तथा पश्चिमा प्रभावमा हस आउदै गरेका टीकाटिप्पणीहरू आउने क्रम तीव्र भएको छ । त्यहाँनेर अमेरिकी राष्ट्रपति जोन बाइडेनले अब सैन्य बलमा परिवर्तन ल्याउने युगको अन्त भएको घोषणाले दोस्रो विश्व युद्धपछि स्थापित परम्परागत अमेरिकी विदेश नीतिमा यूटर्न भएको प्रष्ट संकेत गर्छ । जसलाई सकारात्मक नीति मान्नु पर्छ । यसबाट हस्तक्षेपकारी भूमिका कारण केही देशहरू र विशेषगरी मुस्लिम बाहुल्य देशहरूमा अलोकप्रिय बन्न पुगेको अमेरिकालाई आफनो छवि सुधार्न मदत गर्ने विश्वास गरिन्छ ।
दोस्रो विश्वयुद्धपछि साम्यवाद तथा समाजवाद र पूँजीवादको रस्साकस्सी बीच सन् १९७९ मा सोभियत संघको प्रत्यक्ष हस्तक्षेपलाई असफल बनाउन अमेरिकाले प्रयोग गरेको धार्मिक जिहादी हिंसात्मक आन्दोलनले आज स्वयं अमेरिका तथा पश्चिमाहरू अप्ठ्यारोमा परेको देखिन्छ । आज यसबाट एशिया, अफ्रिका र यूरोप पनि प्रभावित बनेको देखिन्छ । अफगानिस्तानमा उत्पन्न हुन सक्ने धार्मिक अतिवादको सल्को रूस, मध्य एशिया, चीन तथा भारतसम्म आउन सक्ने आधारहरू नभएका होइनन् । नेपाल पनि यसबाट कहाँ सग्लो हुन सक्छ र !
सबैभन्दा महत्वपूर्ण कुरा अफगानिस्तानको भविष्यको कुरालाई लिएर छ । किनकि लामो युद्ध र अस्थिरता खेप्दै आएको अफगानिस्तानमा तालिवानले राजनीतिक अस्थिरता प्रदान गर्न सक्छ कि सक्दैन भन्ने नै हो । धर्म, सम्प्रदाय तथा कबिलाइहरूमा विभक्त र बाक्लो गरिबी रहेको अफगानिस्तानमा नेपालको जस्तो समावेशी राजनीतिको विशिष्ट महत्व रहेको मान्नुपर्छ र यसले नै त्यहाँको राजनीतिक स्थायित्व हुने नहुने कुराको निर्धारण गर्ने विश्वास गरिन्छ ।
तालिवानमा त्यहाँको बहुसंख्यक पस्तुन (जसको हिस्सा कूल जनसंख्याको करिब ४२ प्रतिशत रहेको छ) को बाहुल्यता छ र यिनको पाकिस्तानसँगको सांस्कृतिक तथा सामाजिक सम्बन्धका कुराहरू छ । त्यहाँ अन्य अल्पसंख्यकहरु त्वाजिक, हजरा, तुर्क, उज्वेक, क्रिग आदिलाई साथ नलिँदा द्दन्द बढ्न सक्ने कुरा हालै पंचशीर उपत्यकामा देखिँदो युद्धबाट अनुमान लगाउन नसकिने होइन । त्यसैले यहाँ बृहत्तर राजनीतिक माहौलको आवश्यकता छ । यसले तालिबानको सफलता वा असफलताबारे निर्धारण गर्नेछ । सम्भवतः यो गौरवशाली इतिहासको हेक्का तालिवानले गर्न सक्यो भने सबै बृहत्तर राजनीतिक माहौल बन्न सघाउने छ अन्यथा अतिवादी पथलाई नै समाएर अघि बढ्दा थप द्दन्न चर्किने सम्भावना देखिन्छ ।
बाह्य निगाहाबाट राष्ट्रपति भएको आरोप लाग्ने गरेका विदेशी नियोगमा जागिर खाएका डाक्टर असरफ घानीले त्यहाँ बृहत्तर राजनीतिक माहौलतर्फ ध्यान दिन नसक्दा आज उनी एक्लै भएको उदाहरण विश्वसामु छर्लङ्ग छ । तर, यसपटक तालिवानले सत्ता कब्जा गर्नासाथ बद्लाको राजनीति नगर्ने र सक्दो सबैलाई समेट्ने भन्ने वक्तव्यले तालिवानले आफनो पुरानो छवि बदल्न खोजेको प्रष्ट देखिन्छ । र, यसबाट अफगानिस्तानमा केही सकारात्मकता आउन सक्ने हल्का अडकलबाजी गरिदैछ । यद्यपि तालिबानको व्यवहारिक राजनीति हेर्न अलि कुर्नु पर्ने हुन सक्छ ।
अहिलेको साँघुरिदो विश्व जमानामा सन् १९९६ मा जस्तो तालिवानलाई जे गरे नि छुट हुने अवस्था पक्कै छैन । अर्को, तालिबानको आगमनसँग बिना प्रतिवाद गर्ल्यामगुर्लुम ढलेको त्यहाँको सैन्य तथा प्रशासनिक र सार्वजनिक संस्थाहरूको सुधार नितान्त आवश्यक देखिन्छ । यसले त्यहाँ कुशासन र भ्रष्टचार कुन हदसम्म थियो भन्ने कुराको पनि संकेत गर्छ । सुशासन तथा भ्रष्टाचारमा अफगानिस्तान विश्वमा दश पुछारमा रहेको तथ्यांक नभएको होइन । अर्को कुरा, तालिवानबाट सबैभन्दा त्रस्त अफगानी सिर्जनशील युवा र यसमा पनि महिला र मिडिया रहेको छ जसको विश्वास र भरोसा अहिलेको समयमा तिनलाई आवश्यक पर्नेछ भन्ने कुराको हेक्का तालिवानलाई पक्कै हुँदो हो ।
समग्रमा भन्नु पर्दा भियतनामको जस्तो त्यहाँ नेतृत्वको अभाव प्रष्ट हुन्छ किनकि यि दुबै विश्व महाशक्तिहरूको जुँगाको लडाइसँग सम्बन्धित देखिन्छ । र यि दुबै देशहरुको भ्रमण गरिसकेको सन्दर्भमा भन्नु पर्दा भियतनाम दहे रूपमा आर्थिक रूपमा उदाउँदो छ भने अफगानिस्तान बेहाल अवस्थामा देखिन्छ ।
अर्को अफगानिस्तानमा बद्लिएको भूराजनीतिको कुरा पनि छ । हिजोसम्म अमेरिका तथा सोभियत मात्र मुख्य खेलाडी थिए भने अहिले पाकिस्तान एउटा मुख्य खेलाडीको रूपमा देखिएको छ । सन् १९९६ मा तालिवान आउनुमा पाकिस्तानको आर्शिवाद थियो । तर, अलकायदाको उदयले त्यहाँ तिनको पनि नियन्त्रण नरहेको देखियो । तालिवान नेतृत्वमा पस्तुनहरुको बाहुल्यताबाट पनि पाकिस्तानको महत्व आफैं खोजिने छ ।
यो पनि सत्य हो कि अफगानिस्तान युद्धबाट पाकिस्तानले पनि केही मूल्य चुकाइरहेको छ । हालैका दिनहरुमा पाकिस्तानमा बढदो धार्मिक अतिवाद, हिंसाका घटनाहरूले पनि यो संकेत गर्छ । त्यसैगरी ठूलो संख्यामा अफगानी शरणार्थीहरुका कारण पाकिस्तानले सामाजिक तथा आर्थिक समस्याहरु भोग्दै पनि आएको देखिन्छ । विगतको तालिवानको हर्कत सम्झने हो भने अफगानिस्तानका असफलताका बाछिटाहरूबाट दक्षिण एशिया र विशेषगरी भारत प्रभावित हुने आँकलन गरिँदैछ र यसबाट नेपाल पनि अलग थलग भएर पक्कै बस्न सक्दैन ।
त्यसैले त्यहाँ बाह्य पक्षहरू जसले हारे पनि अफगानी जनताले हार्नु हुदैन भन्ने मूल कुरा हो । युद्ध र अस्थिरताबाट जर्जर बन्न पुगेको अफगानिस्तानमा त्यहाँका जनताले शान्तिपूर्वक जीवनयापन गर्न पाउनुले मात्र अफगानिस्तानका असफलताका बाछिटाहरू कम हुन सक्छन् र यो सबैभन्दा महत्वपूर्ण कुरा हो । अब पश्चिमा प्रयासले मात्र अफगानिस्तान सामान्य अवस्थामा नफर्किन सक्छ । एशियाली प्रयासको पनि आवश्यकता देखिँदो छ ।
अहिले अफगानिस्तानमा राजनीति’ (संवाद तथा सहकार्यका) शून्य प्राय छ, बन्दुक र डर तथा त्रासको माहौल जस्तो देखिन्छ । राजनीतिलाई ब्यूँताउन पाकिस्तान एक्लैले सक्दैन भन्ने कुरा विगतले देखाइसकेको छ । यसबेला सही र स्वार्थ नभएका मध्यस्थकर्ताको अभाव देखिँदो छ । संयुक्त राष्ट्र संघको भूमिका न्यूयोर्कको मिटिङ हलमा सीमित बन्दै गएका बेला चीन, भारत, जापान तथा आशियान भियतनामीहरुको सहयोग र प्रयासहरू महत्वपूर्ण हुने विश्वास गर्न सकिन्छ ।
(चौधरी पूर्वी एशियाको आँखीझ्याल पुस्तकका लेखक हुन् । उनले अफगानिस्तानको स्थलगत भ्रमण गरेका छन् )
https://ratopati.com/story/197710/2021/9/4/afaganistan
I wanted to thank you for this good read!! I absolutely loved every little bit ofit. I have you bookmarked to look at new stuff you post.
Your article helped me a lot, is there any more related content? Thanks!
Your article helped me a lot, is there any more related content? Thanks!