२०७९ को संसदीय निर्वाचन परिणामहरुलाई लिएर बिभिन्न कोणबाट ब्याख्या विश्लेषणहरु भइरहेका छन् । यस पटकको निर्वाचनमा तुलनात्मक कम मत खसे पनि प्रविधिमैत्री पुस्ता तथा नया अनुहारहरु आएका छन् जुन राम्रो पक्ष हो । अब परम्परागत संगठनको आधारमा जे गरे पनि हुन्छ, जे बोले पनि हुन्छ वा जसलाई उठाइदिए पनि जितिहालिन्छ भन्ने प्रवृत्ति तथा मानसिकतामा परिवर्तन आउने सम्भावना व्यक्त गर्न सकिन्छ । पहिलेको जस्तो कांग्रेसप्रति रिस उठ्दा कम्यूनिष्ट र कम्यूनिष्टप्रति रिस उठ्दा कांग्रेसलाई भोट हाल्ने चलन विपरित मत नै नहाल्ने प्रवृत्ति यस पटक देखियो । यसले गुणात्मकतामा सम्झौता नगर्ने मानसिकताको पनि केही हदसम्म रिफ्लेक्सन दिन्छ ।
यस पटकको निर्वाचन परिणामलाई लोकप्रियवादी प्रवृत्ति, मधेश, नेतृत्व चुनौति र विचार तथा तर्कसंगत विवेक आदिका कसीमा हेर्ने प्रयास गरिएको छ ।

लोकप्रियवादी सस्तो नारा तथा नीतिको कसीमा हेर्दा
यस पटकको बजेट केही हदसम्म निर्वाचनमुखी रहेको आरोप लाग्ने गरेको छ । जस्तो कि बृद्द भत्ताको हद उमेर ७० बर्षबाट ६८ बर्ष बनाइएको थियो भने आर्थिक प्रतिकूलताका बाबजूत सरकारी कर्मचारीको तलव १५ प्रतिशतले बढाइएको थियो । तर यसको जादू यस पटकको निर्वाचनमा चलेन । बरु ससाना र जनजीवीकासँग जोडिएका विषयहरुलाई मूलमन्त्र बनाएका पढेलेखेका प्रविधि मैत्रीय जमातहरुलाई जनताले बढी सम्झिए ।
त्यसैगरि गरिबी तथा सुकुम्बासीको नारालाई भजाएर अगाडि बढने प्रवृत्ति यस पटक खासै चलेन । काठमाडौंको थापाथलीका सुकुम्बासीहरुको हिंसात्मक प्रर्दशनका घटनाले सुकुम्बासीको नाममा कार्यकर्ता पोस्ने र गरिबको मसिहाको रुपमा आफूहरुलाई देखाउन खोज्ने केही राजनीतिक दलहरुको प्रवृत्ति उदाँगिएको छ । सच्चा सुकुम्बासीहरु धारिलो हतियार लिएर राजधानीको मुटुमा त्यत्रो जात्रा देखाउने हैसियत राख्दैनन्् । अब पढेलेखेकाहरुले पनि शहरको महँगो कोठा भाडा छल्न सुकुम्बासी बने आश्चर्य मान्नु पर्दैन । यस घटनाले सच्चा सुकुम्बासीहरुका बारे नया धारणा तथा नया रणनीतिको आवश्यकताको उजागर गरेको छ । नया पढेलेखका प्रविधिमैत्रीय युवाहरु लोकप्रियबादी नारा र कार्यक्रम भन्दा जनजीवीकासँग जोडिएको सवालहरु लाई आत्मसात गरेको देखियो ।

मधेशको कसीमा हेर्दा
यस पटकको स्थानीय तथा संसदीय निर्वाचनताका मधेश पहिलेको भन्दा शान्त देखियो । तुलनात्मक पहाडमा झड्पका घटनाहरु बढी देखिए र केही मतदान केन्द्रहरुको निर्वाचन स्थगित पनिभयो । मधेशमा २०७४ साल बिपरित राष्ट्रिय पार्टीहरु पुन उदाएका छन् । त्यहीनेर आन्दोलनको बलमा उदाएका मधेशी दलहरुमा देखिएको जात तथा नातावादलाई जनताले नराम्रो झापड हानेका छन् । र सुध्रिने सन्देश दिएको छ । अर्कोतर्फ अलगाववादमा लागेको जनमत दल विकास र जनजीवीकाको सन्दर्भमा उदाएको छ । त्यसैगरि पश्चिममा उन्मुक्ति पार्टी सामाजिक न्याय र समानताको प्रतीकको रुपमा सशक्त रुपमा उदाएको देखिन्छ । काठमाडौंमा बालेनको उदयले राज्यप्रति मधेशीहरु विशेषगरि युवाहरुको मनोविज्ञानमा केही सकारात्मक परिवर्तन आएको प्रष्ट हुन्छ । समग्रमा यि घटनाक्रमहरुले मधेश सामान्यकरण तर्फ उन्मुख हँुदै गएको रुपमा बुझ्न सकिन्छ । अर्थात मधेशमा सकारात्मक परिवर्तन आएको संकेत गर्दछ र यसलाई समय मै क्यास गर्न आवश्यक छ ।

नेतृत्वको कसीमा हेर्दा
पहिले सर्वेसर्वा ग्रेटयान (महान मान्छे) नेतृत्व सिद्दान्त निकै लोकप्रिय थियो । अहिले राज्य संचालनमा धेरै एक्टरहरु हुने हुनाले राजनीतिक नेतृत्वको सवालमा व्यवहारवादी बर्नको रुपान्तरणकारी नेतृत्वको सान्दर्भिकता बढेको छ । नेतृत्वको प्रष्ट र दृण भिजनले अरुलाई अगाडि बढन र काम गर्न उत्प्रेरणा प्रदान गर्ने र यसबाट मात्र सही नतिजा आउने गर्दछ भन्ने यसको मान्यता रहेको छ । अब नेता हुनलाई कमसेकम स्नातक तथा पेशागत रुपमा सक्षम, प्रविधिमैत्रीय र सृजनशील हुन आवश्यक देखियो । यस पटकको निर्वाचनको यो एउटा महत्वपूर्ण सन्देश हो । नीतिगत र कार्यगत सवालहरुमा नेतृत्व सक्षम हुन भने आवश्यक मानिन्छ ।

विचार र व्यवहारको कसीमा हेर्दा
नेपालमा कुनै दार्शनिकको एकाध पन्ना घोकेर विचारको फुई लाउने धेरै छन् र यस किसिमको भाष्यले बढावा पाउदै आएको छ । विचारको मात्र खेती गरेर नेता हुनेहरु लाई जनताले त्यति रुचाएको देखिएन् । नेपालमा माक्र्सको विचारको कुरा बढी सुनिन्छ । तर माक्र्सको मूलमन्त्र आर्थिक पक्षसँग जोडिएको कुरा देखाउन व्यवहारत पूराना राजनीतिक दलहरु चुक्दै आएका छन् । जस्तो कि राजनीतिमा माक्र्स विचार अंगालेका चीन र भियतनामको आर्थिक विकासलाई हेर्दा नेपालमा विचार, व्यवहार र विकासबिच तालमेल नमिलेको हो कि जस्तो लाग्ने । राजनीतिक रुपमा फरक विचार राख्नेहरुबिच विश्वव्यापीकरणले गर्दा आर्थिक विकासको सन्दर्भमा खासै द्न्द भएको देखिदैन् । अब नीजी क्षेत्रलाई पूरै अपेक्षा गरि अर्थतन्त्र अगाडि बढ्न सक्दैन भन्ने प्रष्ट भइसकेको छ । प्राय सबै देशहरुले विश्व व्यापार संगठनमा हस्ताक्षर गरेको अवस्था छ । बजार नभई चहपहल नहुने रहेछ भन्ने कुरा गाउँबाट शहरको बसाइसराईबाट प्रष्ट हुन्छ । त्यसैले अब विचारलाई कसरी बुझ्ने र प्रस्तुति गर्ने भन्ने कुराप्रति सजग हुन आवश्यक देखिन्छ । स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भने जस्तै भ्रष्टचारलाई हटाउन विचारको खेती गर्न आवश्यक छ र ?भन्ने कुराको जवाफ कमैसँग होला ।

उपसंहार

विचार भनेको आफूलाई शुद्दीकरण गर्नलाई अपनाउने विधि पनि हो जस्तो लाग्यो । म्याक्स बेबरले भने जस्तै अहिलेको युग तर्कसंगत तथा विवेकसंगत युग हो । यो सिस्टमसँग बढी जोडिन्छ । नेपालको समस्या नै सिस्टम नहुनु हो । त्यसैले भद्रगोलको कुरा यहाँ बढी आउँछ । नियम कानूनको फितलो कार्यान्वयनका कुराहरु पनि छन् । हो नेपालमा प्रजातन्त्रका लागि लामो संघर्ष भएको सन्दर्भमा राजनीतिक विचार लोकतान्त्रिकप्रजातान्त्रिक वा एकदलीय, के हो स्पष्ट हुन आवश्यक मानिन्छ । तर अब जनता कन्द्रीत संरचना आइसकेको सन्दर्भमा मूल कुरा सिस्टम नै देखियोे किनकि सिस्टम बिना विकास पनि सही ढंगले अघि बढ्न नसक्ने रहेछ भन्ने देखियो । अब विचारको खेती मात्र गर्ने, तर परिणाम दिन नसक्नेलाई जनताले पत्याउदैनन् भन्ने स्पष्ट भएको छ ।

अन्तमा, अहिलेको पुस्ता शिक्षा तथा प्रविधिका दृश्टिकोणले सक्षम छन् तर युवाहरुबिच एकता र सहकार्य त्यत्ति नै आवश्यक छ परपरागत फाहोरी राजनीतिक चुनौतिहरुलाई चिर्न । जसरी आफ्नो घर-परिवारको उन्नतिका लागि इमान्दारीपूर्वक काम गरिन्छ, त्यसरी नै देश समाजका लागि काम गरे पुग्छ । यही सोच र विचार काफी छ ।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *