भ्रमणमा रूची राख्ने दीपक चौधरी विकास अवधारणासम्बन्धी विषयमा विद्यावारिधि गर्दैछन् । उनले यही महिना पूर्वी एसियाली राष्ट्रहरूको भ्रमण गर्दाको अनुभव समेटेर ‘पूर्वी एसियाको आँखिझ्याल’ नामक पुस्तक प्रकाशन गरेका छन् ।

नियात्रा शैलीमा लेखिएको भएपनि पुस्तकमा नेपाल र पूर्वी एसियाली राष्ट्रहरूबीच सापेक्षिक तुलना गरिएको छ । अन्य राष्ट्रको दाँजोमा नेपाल किन विकसित हुन सकेन भन्ने प्रश्नको मियोमा चौधरीका लेखहरू केन्द्रीत छन् ।

यसअघि उनका तीन पुस्तक ‘नेपालको मधेशी समाज’, ‘तराई–मधेश अफ नेपाल : एन्थ्रोपोलिजकल स्टडिज’ तथा ‘रुपान्तरण’ प्रकाशित भइसकेका छन् । नयाँ पुस्तक र नेपालको विकास अवधारबारे चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश :

पुस्तक नियात्रा हो कि विकाससम्बन्धी लेखहरूको संग्रह ?

यात्रा भनेको लेखन तथा अध्ययनकै एक पाटो हो, किनभने यात्राका दौरान मुख्यतः अवलोकन गरिन्छ । संवाद पनि हुन्छ । यसले नियात्रालाई थप गहकिलो र विषयगत बनाउने काम गर्छ । तर नियात्राको विषय लेखकको रूची तथा दृष्टिकोणमा भर पर्दछ । कसैले नियात्रालाई समाज विकासको कसीमा ढाल्छन्, कसैले प्राकृतिक, मानवीय सौन्दर्य त कसैले ‘रोमान्टिज्म’को रूपमा लेख्ने गरका छन् ।

यो पुस्तक त यात्राकै परिणाम हो । तर यसलाई विकासको दृष्टिकोणबाट लेख्ने प्रयास गरिएको छ । विकास एक प्रक्रिया भएकोले योसँगै ऐतिहासिकता पनि आउने नै भयो । एक प्रकारले यसलाई विकाससम्बन्धी लेखहरूको संग्रह पनि मान्न सकिन्छ ।

नेपालसँग पूर्वी एसियाली राष्ट्रको तुलना गर्नुभएको छ । तर कसरी नेपाल माथि जान सक्छ भन्ने कुरा उल्लेख छैन ?

पूर्वी एसियाको सामाजिक मनोविज्ञान मिल्दोजुल्दो छ । साठी–सत्तरी वर्षअघिसम्म हामी सबै कृषिप्रधान देश थियौं । थाइल्यान्ड र नेपालमा लगभग उही समयमा एयरलाइन्सको स्थापना भएको थियो तर आज आकाश–जमिनको फरक देख्न सकिन्छ । भौतिक तथा प्रविधिमा तिनीहरू हामीभन्दा अगाडि देखिन्छन् । पूँजी र प्रविधि भित्राउने सवालमा हामी पूर्वी एसियाको तुलनामा पछि परेका छौं । आर्थिक सूचकमा उनीहरू अगाडि छन् ।

तर यसको मतलब हामी माथि जानै नसक्ने भन्ने होइन । हाम्रो सामाजिक सूचकहरू धेरै खराब पनि छैनन्, युवाहरूको ठूलो जनसंख्या हामीसँगै छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू छन् । तर नीतिहरू स्थिर छैनन्, सरकारपिच्छे नीति परिवर्तन भइरहन्छन् । योजना र नीतिहरूको सही कार्यान्वयन हुन सकिरहेको छैन ।
आधुनिक विकासको सन्दर्भमा मलेशियामा मोहम्मद महाथीर तथा सिंगापुरमा लि क्वानको जस्तो नेतृत्वको अभावको कुरा नेपालमा उठ्ने गर्दछ जुन स्वभाविक हो । अहिलेको विश्वमा पुँजीको अभाव छैन, आवश्यकता छ त यसको सही सदुपयोग र व्यवस्थापकीय क्षमताको ।

थोरै समयमा गरेको यात्राबाट आर्जेको ज्ञानले विकाससम्बन्धी अवधारण दिँदा पाठकलाई धोका भएन र ?

अहिलेको विश्वमा थोरै समयमा धेरै ठाउँ हेर्न घुम्न तथा त्यहाँका मानिसहरूसँग संवाद गर्न सकिन्छ । भ्रमण जानुअघि भ्रमण ठाउँको एतिहासिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक पक्षबारे अध्ययन गरेर जाने हो भने धेरै उपलब्धि हासिल हुन सक्छ । मलेसियाको सन्दर्भमा मेरो दुईपटकको भ्रमणको कुरा पनि छ ।

मैलै यहाँनेर कुनै सिद्धान्त प्रतिपादन गरेको दावी गरेको छैन । विद्यमान विकाससम्बन्धी अवधारणहरू जस्तो कि आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आम्दानी, मानव विकास, दीगो तथा समावेशी विकास तथा स्वतन्त्रतामै टेकेर विकासलाई नियाल्ने प्रयास गरेको मात्र हुँ। अवलोकन र तथ्यांकगत रूपमा विकासको विश्लेषण तथ्यगत रूपमा नै प्रस्तुत गरे जस्तो लाग्छ । त्यसैले पाठकलाई धोका हुन्छजस्तो लाग्दैन ।

नेपालजस्तो देशको भौतिक विकासले मात्र विश्वमा माथि जान सक्छ र ? जब कि यहाँ सामाजिक परिवर्तनको ठूलो आवश्यकता छ ?

सामाजिक परिवर्तन आवश्यक छ, तर यसलाई कसरी हासिल गर्ने कुरा महत्त्वपूर्ण हो । माक्र्सले प्रविधि तथा आर्थिक विकासले मात्र सामाजिक परिवर्तन सम्भव छ भनेका छन् । तर उनले उत्पादन र वितरणको सन्तुलनमा जोड दिएका छन् ।

समाजशास्त्री म्याक्स वेवरले पनि आर्थिक अर्थात पूँजीवादलाई जोडेर सामाजिक परिवर्तन बारे लेखेका छन् । यधपि तर्कसंगत कुरामा जोड दिएका छन् । नेपाल मै पनि जहाँ बाटोघाटो, फोन, यातायात, स्कूल तथा अस्पताल खुले, त्यहाँ सामाजिक परिवर्तन देख्न सकिन्छ । तर भौतिक विकास नभएका ठाउँहरूमा सामाजिक पछौटेपन पनि प्रष्ट देख्न सकिन्छ । आर्थिक उन्नतिविना समाज तथा देश परिवर्तनको परिकल्पना गर्न सकिन्न भन्ने कुराको पाठ पूर्वी एसियाबाट सिक्न सकिन्छ ।

तपाईंले पूर्वी एसिया विश्वमा नयाँ प्रवाहका साथ उदाउँदैछ भन्ने स्थापित गर्न खोज्नुभएको हो ?

पूर्वी एसिया विश्वमा आर्थिक मञ्चमा उदाउँदै गरेको कुरा त्यहाँ देखिने परिवर्तनबाट बुझन सकिन्छ । सिंगापुर विश्वकै उच्च आम्दानी तथा मानव विकास सूचांकमा उत्कृष्ट पाँचभित्र पर्दछ । कृषि, वन तथा मत्स्य क्षेत्रमा सिंगापुरवाहेक यी देशहरू यूरोपको तुलना अगाडि देखिन्छन् । उद्योगमा कम्बोडियालाई छाडेर हेर्ने हो भने यो क्षेत्र यूरोपभन्दा अगाडि देखिन्छ ।

आशियान देशहरूको औसत वार्षिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी रहेको छ जुन यूरोप बढी छ । त्यसैगरी सन् २०२० को तथ्यांकमा वैदेशिक लगानी भित्राउनेमा चीन (१६३ विलियन डलर), अमेरिका (१३४ विलियन डलर) र पूर्वी एसिया क्रमश पहिलो, दोस्रो र तेस्रो रहेका छन् । यि तथ्यहरूले पनि पूर्वी एसिया विश्वमा उदाउँदो आर्थिक शक्तिको रूपमा देखिदो छ । मेरो यूरोप भ्रमण समेतको अनुभवको कसीमा भन्नु पर्दा पूर्वी एसिया आर्थिक क्षेत्रमा आशातित रूपमा लम्किरहेको प्रष्ट देखिन्छ, बुझिन्छ ।

यात्राका क्रममा धेरै देश घुम्नुभयो । नेपालको विकास हुन नसक्नुको मुख्य कारण के रहेछ ?

‘ह्वाई नेसन फेल्स’ पुस्तकमा विकास नहुनुमा नेतृत्व वर्गमा अज्ञानवादी सिद्दान्तले काम गरेको चर्चा छ । सही नीतिप्रतिको उदासीनतालाई प्रमुख कारण मानिएको छ । पुँजी तथा प्रविधि भित्राउने सवालमा मलेशियाको ‘पूर्वी एसिया हेर’ नीति सफल रह्यो । तर हामीले बाह्य पुँजी तथा प्रविधि एकप्रतिशत पनि भित्राउन सकेका छैनौं । अर्को कारण बजारप्रतिको नीति पनि हो । प्रविधिले बजारलाई व्यवस्थित गर्न मद्दत गरेको छ । हामी कहाँ बजारलाई गाली गर्ने प्रवृत्तिले पनि धेरै गढवढ गरेको छ यहाँ ।

हामीले भौतिक विकास र बजारको सन्दर्भमा समस्याहरू भोगिरहदाको प्रभाव आर्थिक विकासमा पनि पर्ने नै भयो । पर्यटन सम्भावना हुदाहुदै भौतिक विकासको अभावमा यसले धेरै उचाइ लिन सकेन । कम्बोडियाले वार्षिक ५० लाखभन्दा बढी पर्यटक भित्राउँछ जबकि हामी दश लाखमा सीमित छौं । यी सबै कुराहरू अन्तमा नेतृत्वसँग ठोक्किने गर्दछ । प्रसिद्द दार्शनिक मिचेल फूकोले यूरोपको सन्दर्भमा शक्ति र ज्ञानको सही प्रयोगबाट विकासको मूल फुटेको कुरा भनेका छन । यहाँनेर नेतृत्वमा समयसापेक्ष सोच, प्रतिवद्दता र इमान्दारिता, एलिटहरूको अनुशासनहीनता, व्यवसायिकरण चरित्रको अभाव, अन्धराष्ट्रवाद, तथा प्रविधिप्रतिको उदासीनता आदि कारणहरू प्रकट हुने गरेका छन् ।

नेपालका मानिसहरूमा यति विध्न नकारात्मकता भेटिन्छ कि नेतृत्व तथा सामाजिक अगुवाहरूले सिस्टममा बस्ने बसाल्ने जरुरी अवस्था आइपरेको छ । यो अनुशासनसँग बढी जोडिएको छ । कसैले कसैलाई नगन्ने बानी परेको छ । तलकाले माथिकाको सिको गर्ने हो । जस्तो कि पूर्वी एसियाले विकासको सन्दर्भमा जापानको सिको गर्यो ।

विकास कडा मेहनत, अनुशासन, सहकार्यता तथा सवल टीमसँग सम्बन्धित छ भन्ने कुरा पूर्वी एसियाको अनुभवबाट भन्न सकिन्छ । त्यसैले नेतृत्व (राजनीतिक तथा ब्यूरोक्रेटिक) ले आफ्नो भन्दा राम्रो र सही पदमा सही मान्छेलाई प्राथकिता दिन जरूरी देखिन्छ । प्रविधिको प्रयोग र विस्तार नितान्त आवश्यक छ । अब डिग्रीले मात्र भएन, सिर्जनशीलता महत्वपूर्ण देखियो । पूर्वी एसिया सिर्जनशीलताको सन्दर्भमा अगाडि देखिन सक्छ । यसबाट मात्र सार्वजनिक निकाय प्रभावकारी हुने र यसले विकासलाई सही ढंगले डोरयाउन सक्नेछ । र नेपाल पनि विकसित राष्ट्रमा रूपान्तरित हुन सम्भव हुनेछ ।

विकासलाई हेर्ने नेपाली (हाम्रो) दृष्टी सानो भएर विकासमा प्रतिबद्ध हुन नसकेको हो ?

अवश्य हो । कुनै पनि कुरामा प्रतिवद्ता आवश्यक हुन्छ । हामीकहाँ बोली र प्रतिबद्धताबीच तालमेल देखिँदैन । प्रतिबद्धता समय र अनुशासनसँग पनि जोडिएको हुन्छ र यसमा हामी चुकेका छौँ । परिणामत विकास कामहरू समयमा भएका कम उदाहरणहरू छन्, गुणात्मकताको सन्दर्भमा प्रश्नहरू आउने गरको छन् । ढीलासुस्ती र भ्रष्टचार त्यहाँ पनि नभएको होइन, यद्यपि यसको मात्रा त्यहाँ कम छ ।

‘पूर्वी एसिया विश्व आर्थिक मञ्चमा प्रभावशाली बन्दैछ’

Similar Posts

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *