उप निर्वाचन २०८० लाई नेतृत्वको कसीमा हेर्दा———-
यही २०८० बैशाख १० मा तीन रिक्त संसदीय निर्वाचन क्षेत्रहरुको उप निर्वाचनको परिणामले नेपालको राजनीतिक दल, नेतृत्व र सामाजिक तथा राजनीतिक क्षेत्रमा आउँदै गरेको वद्लावलाई धेरै हदसम्म इंगित गर्दछ ।
दोहोरो नागरिकताको सम्बन्धमा अदालतको निर्णयले सांसद पद गुमाउन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका चर्चित नेता रवि लामिछानेले नपालको संसदीय निर्वाचनको इतिहासमा पुनः अत्यधिक मत अर्थात ५ गुणा भन्दा बढी मतान्तर (५४१७६ बनाम ११२१४) ले विजयी भई एउटा गज्जबको रेकर्ड बनाउन सफल भएका छन् । त्यसैगरि अर्को दृश्य नेपाली कांग्रेसका रामचन्द्र पौडेलको राष्ट्रपतिमा निर्वाचनसँगै रिक्त हुन पुगेको उनको तनहँु निर्वचन क्षेत्रबाट काँग्रेस परित्याग गरि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्याक्षी भई सर्वाधिक मतले विजयी हुनु भएका प्रसिद्द अर्थशास्त्री स्वर्णिम वाग्लेको विजयको प्रसगं पनि अत्यन्त सान्दर्भिक र अर्थपूर्ण छ । त्यहीनेर मधेशमा मधेश आन्दोलनका सारथी उपेन्द्र यादव र नवोदित उदयमान सीके राउतको राजनीतिक संघर्षको लडाई प्रसगंले मधेशमा पनि सामाजिक तथा राजनीतिक र नेतृत्व विषयका वद्लाव खोजिरहेको देखिन्छ । उप निर्वाचन २०८० को परिणामले धेरै कुराहरु बोल्न उत्प्रेरणा गर्दछ ।
नतिजा परिणाम लगत्तै नेपाली कांग्रसका सभापति शेर बहादुर देउपाले विदेशमा रहेका नेपालीहरुका कारण पराजय भोग्नु परेको सन्दर्भ कोट्याउदै अब दलहरु सच्चिनु पर्ने बताएका छन् । तर को, कसरी र कहाँनेर सच्चिनु पर्छ, केही भनिएको छैन । रवि लामिछाने र स्वर्णिम वाग्लेको विजयसँगै मेरा एक मित्रले अब राजनीतिक गर्न पुरानै दलहरु चाहिन्छ भन्ने दिन गए टिप्पणी सान्दर्भिक लाग्यो । राजनीति तथा शासन व्यवस्थाका लागि राजनीतिक दलको विकल्प हुन सक्दैन तर राजनीतिक दलहरुको सिंडिकेट प्रथा आलोच्य मान्नु पर्छ । स्वर्णिम वाग्लेले चुनावी मैदानमा अब पुराना दलहरुको जमिनदारी सकिएको उद्घोष गरेका थिए । यसलाई जनतामा आएको वद्लावसँग जोडेर हेर्दा उपयुक्त नै होला । परम्परागत राजनीतिक दलहरुको सधैको रटान, प्रजातान्त्रिक संघर्षको कथा तथा भाष्यलाई भजाएर हिड्न खोज्ने प्रवृत्ति आफैंमा अप्रजातान्त्रिक र असुहाउँदो छ ।
त्यहीनेर राम सहाय यादव उप राष्ट्रपति भएसँगै मधेशको बारा जिल्लाको उहँको संसदीय पद रिक्त भएको थियो र यसमा मधेश कै उपेन्द्र यादव संसदमा आउन संघर्षरत थिए भने जनमत पार्टीका चर्चित सीके राउत आफ्नो नया वर्चश्य कायम गर्न लागेका थिए तर बाजी उपेन्द्र यादवको पक्षमा गएको छ । तर त्यहीनेर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र दलबाट टिकट पाएका चर्चित पूर्व एसएसपी रमेश खरेलको जमानम नै जफ्त भयो । यो सन्दर्भलाई मेरा एक सिनियर मित्रले मधेशमा अझ पनि जातीयताले काम गर्ने गरेको बताए । मधेशमा असमानता र गरिबीको आयतन र धनत्व दुबै अलि बढी रहेको कुरा आउने गर्दछ । त्यस्ता मानिसहरुको आर्थिक निर्भरता ठालूसँग रहिरहनाले ठालू तथा जातियताको रंग रहेको जस्तो लाग्न नसक्ने होइन । मिटरब्याजीको प्रसगंले पनि मधेशमा अझ पनि आर्थिक असमानताको खाड्ल गहिरै रहेको संकेत गर्दछ । यस्तो परिवेशमा ति आफनो निर्णयको मालिक स्वयं हुनसक्दैनन् । यहाँनेर मधेशमा सीके राउतको बारा निर्वाचन क्षेत्रमा उम्मेदवार चयनको सवालमा पनि त्यस्तै परम्परागत शैलीको कुरा आउने गरेको छ । त्यहाँ मधेशका स्वर्णिमहरुको खोजी गर्ने काम भएन भन्ने छ ।
तर यि सबलाई म नेतृत्वको सिद्दान्तको वरपर रहेर हेर्न रुचाउँछु । यहाँनेर बालेन पछिको राजनीति अर्थात पोष्ट बालेन राजनीतिका प्रभावका कुरा नगरि अबको राजनीतिक तथा नेतृत्वको विश्लेषण पुरा हुन सक्दैन । यसै सन्दर्भमा काठमाडौं कोटेश्वर निवासी शिवराज घिमिरेको भनाई प्रसगंलाई जोड्न उपयुक्त होला । उनले बालेन शाहलाई त्यसताका भोट दिएनन् किनकि पार्टी बाहेककाले जित्छ भन्ने उनलाई पटक्कै लागेको थिएन । तर बालेनको जित र उनको आक्रमक कार्यशैलीसँगै प्रभावित भई संसदीय निर्वाचनमा शिवराजले स्वतन्त्र पार्टीकी सोविता गौतमलाई भोट हाले र उनले जितिन् पनि । बालेनको कार्यशैलीलाई धेरै पालिकाहरुले अनुसरण पनि गरेको देखियो । यद्यपि उनको आफनो कार्यकालसम्मको सफलता असफलताका कुराहरु हुदै गर्लान, तर बालेन पछिका बाछिटाहरु देखिसक्यो । यहाँनेर जनताको मनमा गडेका धरानका हर्क साम्पागंलाई बिर्सिइएको चाँहि पक्कै होइन, उनको एउटा आफनै विशेषता छ । तर देशको राजधानी र समस्याहरुको चांग रहेको तथा बहुसामाजिकता र शिक्षा क्षेत्रमा अग्रिण रहेकोले काठमाडौं बालेनको नाम स्वभाविक छ ।
नेतृत्वको कुरा गरिरहदा व्यक्तित्व अर्थात पर्सनालिटी, व्यक्तिगत गुण तथा कार्यशैलीलाई हेर्ने गरिन्छ । अबको जेनेरेशनलाई चाकरी तथा धाउने प्रवृत्ति पटक्कै सह्य छैन् । तिनीहरु विदेश हेर्छन र आफनो देश पनि भौतिक रुपमा सम्पन्न र सिस्टमय होस् भन्ने चाहन्छन् जुन अत्यन्तै स्वभाविक हो । तर परम्परागत राजनीतिक सामाजिक पक्ष आफनै तालमा नाच्न व्यस्त देखिन्छन् । कुकुरको पुच्छर बाह्ै महिना ढुग्रोंमा राखेपनि बाङगो भने जस्तै । संगठनको भर र आडमा नया नेतृत्व विकासलाई नजरअन्दाज गरेर अघि बढ्न खोज्नु भने कै अप्रजातान्त्रिक छ । पुराना दलहरुमा धेरैलाई काम नगरे पनि हुने भएको छ । यि सब मूलत पर्सनालिटी, व्यक्तिगत गुण तथा कार्यशैलीसँग नै जोडिन्छन् ।
हो, रवि लामिछानेको राजनीतिक इतिहास जीरो मान्नु पर्छ, तर उनी समयको प्रवाहसँग हिड्ने कोशिशमा अगाडि मान्नु पर्छ । गल्तीलाई हाक्काहाक्की स्वीकार्छन र क्षमायाचन सहित अगाडि बढ्छन् । उनले जनताको मनको कुरा गरे । रवि लामिछानेले एक कार्यक्रममा आफनो जीतको पछाडि भ्रष्टचारको मुद्दा उठाएको र यसलाई जनताले रुचाएको बताएका छन् । उनी जस्ताको उदयमा नेपालको राजनीति तथा विकासको क्षेत्रमा देखिएको विकृति तथा ग्यापहरु मूल कारणहरु हुन जुन परम्परागत राजनीतिक दलहरुलाई पुरा गर्न हम्मेहम्मे परेको अवस्था छ । तसर्थ रवि तथा बालेनको उदय हुनु अस्वभाविक छैन । तिनमा आफना कसैको जागिर लागाउन वा काम गरिदिएर लाभ लिने कार्यशैली देखिदैन । तिनलाई जे बोले पनि वा काम नगरे पनि छुट छैन भन्ने कुरा राम्ररी बुझेको हुनुपर्छ ।
बिरोधाभास राजनीति अहिलेको जेनेरेशनको रुचिको विषय नै होइन । जस्तो कि बालेनले अदालतको आदेशलाई शिरोधार्य गर्दे काठमाडौंको फोहोर उठाउन शुरु गरे । तर गृहमन्त्रीलाई बालेनले सुकुम्बासीलाई हटाउन अदालतको उहिल्यैको आदेश सम्झाइरहदा गृहमन्त्री नसुने झै मोवाइल चलाउनमा मग्न देखिन्थे । यि सब नेतृत्वको काम गर्ने शैलीसँग जोडिन्छन् र कार्य शैलीले तिनको नियत पनि दर्शाउँछ ।
अझ परिनर्तनशील नेतृत्व सिद्दान्त अनुसार नेतृत्वले नेता र कार्यकर्ताहरु लाई सँगै लाने र आफनो मातहतका लाई कामका लागि उत्प्रेरणा गर्दे निर्दिष्ट कामलाई समयमा फत्ते गर्नु गर्दछ भन्ने मान्यता राख्दछ । तर माथि पुग्ने माथि र तल हुने तल पीधँ मै रहिरहने तीतो यथार्त पनि नभएको होइन । नेपालको सामाजिक पक्ष जस्तो छ राजनीतिक पक्ष पनि त्यस्तै देखिन्छ । राजनीतिकले सामाजिक वद्लावमा जस्तो भूमिका खेल्नु परथ्यो त्यहाँ प्रश्नहरु धेरै छन् । तर बालेन पछिको माहौलले अब पीधँको पीधँ मै रहिरहनुपर्ने अवस्थाको अन्त गरेको छ । यो कुरा स्वर्णिम वाग्लेको विजयबाट पनि पुष्टि हुन्छ । हालको संविधान स्वीकारेर नेपालको राजनीतिमा आइसकेपछि तिनले उठाउने मुद्धा भने कै मूलत सुशासन र विकास नै हो । मधेशमा अझ पनि राजनीतिक नेतृत्व विकासका लागि केही जागरण अभियानको खाँचो देखिन्छ ।
निश्कर्षमा, शक्ति केन्द्रको वरपर बस्न खोज्ने र सोही अनुरुपको राजनीतिक गर्न खोज्ने प्रवृत्तिको अन्त हुन देशले अझै केही समय कुर्नु पर्ने देखिन्छ । यसका लागि सोही अनुरुपले नेतृत्व आउन आवश्यक छ । सुशासन र प्रविधिको प्रत्याभूति जबसम्म उपल्लो स्तरका नेतृत्वबाट हुदैन, विकास र सेवा प्रवाह पनि प्रभावकारी हुन सक्दैन भन्ने कुरा नेपालको अवस्थाबाट प्रष्ट हुन्छ । यो साँचो हो कि नेतृत्व चयन विकास अझ पनि राजनीतिक दलहरुको मुख्य एजेण्डा बन्न सकेको छैन् । यद्यपि जनता गुणात्मक नेतृत्वको खोजीमा छन् भन्ने कुरा बुझन आवश्यक छ ।